शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना वेबसाइटबाट हटाएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले यसबारे थप प्रस्ट पार्नुप भएकोले तत्कालका लागि हटाइएको जानकारी दिए ।
उनले शिलापत्रसँग भने, ‘निर्णयबाट पछि हटेको होइन, त्यसका थप विषयहरू प्रस्ट पार्नु पर्नेछ, थप प्रस्टतासहित आजै विज्ञप्ति प्रकाशित हुन्छ ।’
विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहका इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने भन्दै आइतबार मन्त्रालयले विज्ञप्ति निकाले थियो । तर, विज्ञप्ति निकालेको २४ घण्टा पनि नबित्दै सोमबार वेबसाइटबाट हटाइएको थियो । मन्त्रालयका अनुसार इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने सम्बन्धमा थप स्पष्टतासहित सोमबार नै अर्को विज्ञप्ति जारी हुनेछ ।
आइतबार इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने भन्दै मन्त्रालयले प्रकाशित गरेको विज्ञप्ति र शिक्षामन्त्री सस्मित पोखरेलले राखेको सूचना फरक परेको थियो ।
मन्त्रालयले सबै प्रकारको इन्ट्रान्स परीक्षाका लागि कक्षा सञ्चालन गर्न नपाउने गरी सूचना प्रकाशन गरेको थियो भने मन्त्री पोखरेलले कक्षा १२ सम्म मात्रै इन्ट्रान्स र ब्रिज कोर्समा रोक लगाउने निर्णय गरेको भन्दै अर्काे सूचना सार्वजनिक गरेका थिए ।
मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘विद्यार्थीहरूको समग्र सिकाइ र विद्यालय शिक्षाको मर्यादालाई प्राथमिकता दिँदै कक्षा १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन हुँदै आएका केही अतिरिक्त तयारी कक्षाहरू १ वैशाख २०८३ देखि बन्द गर्ने निर्णय गरिएको छ ।
मन्त्रालयले भने विद्यालयका विभिन्न तह र उच्च शिक्षाका विभिन्न तहमा इन्ट्रान्स तयारी र ब्रिज कोर्सका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका कार्यक्रम १ वैशाखदेखि पूर्ण रुपमा बन्द गर्ने विज्ञप्तिमा उल्लेख गरेको थियो ।
यस्ता कार्यक्रम सञ्चालन भए/नभएको अनुगमन गर्न र सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाहीको प्रक्रियासमेत अघि बढाउन जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरेको थियो ।
उच्च शिक्षा भर्ना हुनुभन्दा अगाडि सञ्चालन हुने यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पर्नुका साथै अनावश्यक आर्थिक बोझसमेत पर्ने मन्त्रालयको भनाइ छ । इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने सरकारको निर्णयप्रति प्रशंसा र आलोचना दुवै भइरहेको छ ।