कुवेत। नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ स्थापना दिवसको अवसरमा विशेष सामाजिक कार्यक्रमको आयोजना गर्ने भएको छ। विगतका वर्षहरूमा जस्तै यसपटक पनि शाखाले आफ्नो स्थापना दिवसलाई सामाजिक सेवा र व्यावसायिक सम्मानका साथ मनाउन लागेको हो।

गत वर्ष १६औँ स्थापना दिवसमा ‘श्रमिक सचेतना कार्यक्रम २०२५’ सफलतापूर्वक सम्पन्न गरेको शाखाले यस वर्ष १७औँ दिवसको अवसरमा ‘रक्तदान’ कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको छ। स्थापना कालदेखि नै विभिन्न आरोह-अवरोह पार गर्दै कुवेतको नेपाली समाजमा सक्रिय पत्रकारितामार्फत आफ्नो दह्रो पहिचान बनाउन सफल यस शाखाले आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको छ।
यसै विशेष अवसरमा ‘स्वर्गीय माधव शाही स्मृति पत्रकारिता पुरस्कार’ समेत वितरण गरिने आयोजकले जनाएको छ। हरेक वर्ष स्थापना दिवसका दिन प्रदान गरिने यो पुरस्कार कुवेतमा रहेर सक्रिय तथा परोपकारी पत्रकारिता गर्ने एकजना पत्रकारलाई सम्मानस्वरूप प्रदान गरिँदै आइएको छ। कुवेतमा नेपाली पत्रकारिताले फड्को मारिरहेको वर्तमान अवस्थामा यस्ता रचनात्मक र मानवीय कार्यले पत्रकारिता क्षेत्रको गरिमा बढाउनुका साथै समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
आयोजकले कुवेतमा क्रियाशील सम्पूर्ण संघ-संस्था, बुद्धिजीवी, व्यवसायी तथा आम नेपाली समुदायलाई यस परोपकारी कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रमको विवरण:
मिति: ७ अगस्ट २०२६
स्थान: सेन्ट्रल ब्लड बैंक, जाबरिया (Central Blood Bank, Jabriya)
समय: दिउँसो १:३० देखि अपराह्न ४:३० बजेसम्म
आयोजक: नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत
सम्पर्क :-
राज मल्ल 99853258
चन्द्र गोतामे 67766127
दिपेन्द्र निरौला 50120638
आकाश शेर्पा 41134483