विवेक खड्का।
दाङमा अक्सिजन प्लान्ट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । विद्युतको फिडर लाईन जडान भएसँगै दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ झिङ्नीस्थित बन्द अवस्थाको अक्सिजन प्लान्टले फेरि तत्कालै उत्पादन सुरु गर्ने तयारी भइरहेको छ । बुधबारदेखि नै उद्योगमा फिडर लाईन जोड्ने काम सुरु भइसकेको बिहिबार बेलुकासम्म फिडरलाईन जोड्ने काम पूरा हुने सन्चालक भरत पौडेलले जानकारी दिए । फिडरलाईन जोड्न काम पूरा भएर बिहीबार रातिदेखि नै अक्सिजन उत्पादन सुरु हुने र दैनिक उद्योगबाट १ सय २० देखि १ सय ३० सिलिन्डर ग्यास उत्पादन गर्न सकिने पौडेलले बताए ।
‘हामीले पहिले निजी खर्चमा १५० केभिएको ट्रान्सफर्मर जडान गरेर उत्पादन गर्दै आएका थियौं,’ पौडेलले भने ‘तर, यसपालि फिडरलाईनका लागि सरकारले नै आफै छुट्टै आफ्नै ट्रान्सफर्मर र अन्य उपकरण ल्याएर जोडिदिएको छ ।’
२०७३ सालमा स्थापना भएको दाङ अक्सिजन उद्योग प्रालिले दूई वर्ष उत्पादन गरे पनि विद्युत आपूर्तिमा भएको समस्याले विगत दूई तीन बर्ष यता उत्पादन बन्द गर्दै आएको थियो ।
करिब करिब चार करोडको लगानीमा स्थापना भएको उद्योग बन्द भएपछि अक्सिजनको लागि दाङ जिल्ला बाँके लगायतका जिल्लाहरुमा निर्भर हुनु परिरहेको थियो । तर, अहिलेको कोरोना भाइरस महामारीको समयमा बिरामी अस्पतालहरुमा अक्सिजन नपाएको खबरहरु सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको सक्रियतामा पुनः बन्द उद्योग सञ्चालनमा आउन लागेको हो ।
पौडेलका अनुसार महामारीको प्रकोप सकिएपछि फेरि हाल जडान गरिएका सबै सामग्री निकालेर लैजाने सहमति भएको जानकारी दिए ।
दाङमै अक्सिजन उत्पादन हुन थालेपछि अब जिल्लाका अस्पतालहरुमा बिरामीलाई आपत बिपद जतिखेर पनि अक्सिजन सिलिण्डर ल्याउन सहज हुने अपेक्षा गरिएको छ ।
kanikakhabar.com